Sunday, 24 July 2022

कविता: सबै सम्भव छ यहाँ


डा. बच्चु कैलाश कैनी












भन्थे बुढापाकाले 
गरे सबै सम्भव छ 
मैले भोगेको छु  
सबै सम्भव छ यहाँ 
चोरलाई साधु बनाउन 
राम्रालाई हैन 
हाम्रालाई  प्रमुख बनाउन 
भ्रष्टाचारीलाई चोखो बनाउन
जनताको आवाजलाई वेवास्ता गर्न  
गुण्डालाई मन्त्री बनाउन 
तेलमा पानी मिसाउन 
रात दुई गुणा दिन चार गुणा 
महंगी बढाउन
पानी नआउने धाराको बिल तिराउन 
त्यति मात्रै कहाँ हो र ?
हिजो तिमी मेरो म तिम्रो भन्नेलाई 
आज घोक्रेठ्याक लगाउन
यहाँ सबै सम्भव छ 
हो हजुर हो !
सबै सम्भव छ यहाँ। 

मैले देखेको छु
मैले सुनेको छु 
सबै सम्भव छ यहाँ 
निमुखालाई झनै तल गिराउन 
गरीवको मजाक उडाउन
बेरोजगारको हुर्मत लिन 
मतदातालाई केवल आश्वासन दिएर 
आफ्नो लागि भोट झार्न
जातको आधारमा 
अझै पनि भेदभाव गर्न 
समयको कुनै ख्याल नगरी 
काम गर्न वा गराउन 
पदको दुरुपयॊग गरी
मस्तसंग रमाउन  
घरको फोहोर बाटोमा फाल्न 
सार्वजनिक जग्गा बिक्री वितरण गर्न 
कालो बजारी गरी धन कमाउन 
कर नतिरी घर जग्गा जोड्न 
यहाँ सबै सम्भव छ 
हो हजुर हो !
सबै सम्भव छ यहाँ। 

सबै सम्भव छ यहाँ 
मैले जस्तै गरी 
मनको कुरा लेख्न
आफ्नो पीडा पोख्न 
जनताको आक्रॊश सबै सामु राख्न 
तर के गर्नु?
असम्भव केहि छैन यहाँ 
सबै सम्भव छ यहाँ 
मेरो कुरालाई वेवास्ता गर्न 
यस्तो लेख्ने तँ को होस् भनेर प्रश्न गर्न 
मलाई नै घोक्रेठ्याक लगाउन 
यहाँ सबै सम्भव छ 
हो हजुर हो !
सबै सम्भव छ यहाँ। 

डा बच्चु कैलाश कैनी
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...