https://sahityapost.com/kabyapost/kabya-poetry/155874/
मेरो स्कूले मित्र गाउँमा छ
म शहरमा छु
ऊ पनि स्वास फेर्छ
म पनि स्वास नै फेर्ने हो
फरक यत्ति हो
उसले फेर्ने स्वासमा
माटोको सुगन्ध छ
मैले फेर्ने स्वासमा
धुवाँ धुलोको दुर्गन्ध छ
ऊ गाउँमा छ
म सहरमा छु
ऊ हरेक दिन ताजा खाना खान्छ
म पनि खाना त खाने नै हो
फरक यत्ति हो
ऊ सिधै सधैँ
आफ्नै उत्पादन खान्छ
म भने कता कताबाट आएको
के के मिश्रित भोजन खान्छु
हजुर मेरो स्कूले मित्र
अहिले पनि गाउँमा नै छ
म सहरमा छु
ऊ प्रकृतिले बनाएको जंगल वरिपरि घुम्छ
म पनि जंगलमा नै घुम्ने हो
तर, प्राकृतिक हैन
मानव निर्मित कंक्रिटको जंगलमा
ऊ भन्छ म स्वर्गमा छु
म भने मरेपछि स्वर्ग जाने बाटो खोज्दै छु
बाटोको कुरा गर्दा सम्झें
हामी हिंड्ने गोरेटो बाटोकै आसपास
गाउँमा बाटो आएको छ रे अहिले
सहर जाने गाडी पुगेको छ रे !
हाटबजार हटेर
गाउँमा नै पसल खुलेको छ रे !
उसले आजकल विकल्प भेटेको छ रे !
विकल्प भए पनि
त्यसलाई दुरुपयोग हैन
सदुपयोग गरेको छ रे
हालसालै सुनें
ऊ अझै दृढ छ
अहिले पनि आफ्नै गाउँ रोजेको छ
साँच्चै भनेको मैले हजुर
मेरो मित्र अहिले पनि गाउँमा नै छ
म अहिले यता सहरमा बसेर
यो कविता कोर्दै छु
उसको बखान गर्दै छु
मनको बह पोख्दै छु
आफ्नै जीवनको मूल्यांकन गर्दै छु
ऊ भने कुनै मूल्यांकन बिना
पछुतो नगरी
आफूलाई दोषी नमानी
उतै रामाएको छ
जीवन धान्न पुग्ने उतै कमाएको छ
हो, साँच्चै उसले जीवन धान्न पुग्ने कमायो
कमाउन त मैले पनि कमाएँ
उही जीवन धानें
उही मानव चोला जियें
ऊ जसरी आयो
म पनि त्यसरी नै आएँ
ऊ जसरी जान्छ
म पनि त्यसरी नै जाने हो
फरक यत्ति छ
ऊ जहाँ जन्म्यो, हुर्क्यो, बढ्यो र काम गर्यो
त्यही माटोको सेवा गर्दै
त्यही माटोमा अन्त्य हुनेछ
म भने अहिलेसम्म
दोधारमा बाँचेको छु
आफैँले आफैँमाथि प्रश्न गर्दै
अन्योलको भुमरीमा परेर
आफ्नो पीडा र ब्यथा पोख्न
यो कविता लेख्दै छु।
डार्टफोर्ड, बेलायत।
No comments:
Post a Comment