मेरो सम्झनामा मेरो बुवा
- डा बच्चु कैलाश कैनी
पितृसत्तात्मक हाम्रो समाजमा बुवा भन्ने बित्तिकै घरको मुख्य अभिभावक, संरक्षक, कमाउने, परिवारलाई एकै सुत्रमा बाँध्ने आदि तस्विर हाम्रो सामु आउँछ। मलाई पनि मेरो बुवा भन्ने बित्तिकै त्यस्तै भन्ने कुराको सम्झना आउंछ। हामी जस्तो समाजमा जन्म्यौ, हुर्केयौ र बढ्यौ हामीमा त्यस्तै सोचाई र संस्कार आउँछ। यो स्वाभाविक पनि हो।
मैले सुने अनुसार बन्दिपुरको सदरमुकाम दमौली सार्दा बन्दीपुरमा भएको मुठभेडमा उहाँले बल्ल बल्ल ज्यान जोगाउनु भएको थियो। उहाँलाई मर्यो भनेर कोदोबारीमा फालिएको थियो। दुई दिन पछि उहाँको होस् आएको थियो रे। त्यति नै बेला बन्दीपुरबासीको कुटाईले उहाँको अगाडिको दुई वटा दांतहरु पनि झरेका थिए। त्यसैले उहाँले दुई वटा नक्कली दांत अर्थात डेंचर पनि लगाउनु भएको थियो। हामी बच्चा हुँदा तिनै नक्कली दांत देखाएर हामीलाई तर्साउने गर्नु हुन्थ्यो।
तनहूँ जिल्लाको सदरमुकाम दमौली सरे पछि दमौली बजारको योजना बनाउन र बस्ती बसाउन मेरो बुवा लगायत धेरैको योगदान छ। त्यति बेला दमौलीमा बस्ति बसाउन जिल्ला पंचायतले निकै कम रकममा (मैले सुने अनुसार दश रुपैयाँमा एउटा घडेरी) वितरण गरेको थियो रे। मेरो बुवा जिल्ला पंचायतको सदस्य र उप-सभापति भएपनि आफ्नो नाममा कुनै घडेरी नराखेको कुरा धेरैको सम्झनामा अझै छ। आफैं जिम्मेवार पदमा बसेर घडेरी बाँड्ने र आफैं आफ्नो नाममा घडेरी लिंदा जनताले के भन्छन भन्ने कुरामा उहाँ सतर्क रहेको सबैलाई थाहा छ।
उति बेला २०३२-३३ साल तिर होला, कुनै कामले मेरो बुवा काठमान्डौ आउनु पर्ने भयो। खै किन हो, बुवाले मलाई पनि संगै लिएर काठमान्डौ जानु भयो। पहिलो पटक काठमान्डौ म झन्डै पांच वा छ बर्षको हुँदा मेरो बुवासंग आएको थिएँ। हामी त्यसबेला क्षेत्रपाटीको एउटा होटलमा केही दिन बसेका थियौं। अनि घर गएर मैले 'हामी काठमाडौँमा छेरपाटीमा बसेको थियौं' भन्दा सबै जना हाँसेका थिए। काठमान्डौ आएको बेला धेरै घुमेको याद नआए पनि काठमान्डौको अमृत साइन्स कलेजको भवन, पुराना गल्लि घरहरुको भने याद छ मलाई। त्यस्तै पहिलो पटक पोखरा पनि म बुवासंगै गएको थिएँ। म पोखराबाट बस चढेर आउँदा ड्राईभरको छेउमा बसेर कसरी बस चलाउने रहेछ भनेर खुब हेरेको थिएँ। सायद त्यति बेला म सात-आठ बर्षको थिएँ होला।
देशमा प्रजातन्त्र प्राप्तिको लागि मेरो बुवा धेरै पटक जेल जानु भयो। २०३६ सालमा दमौली र पोखरा कारागारमा बसेको बेला म मेरी आमासंग उहाँलाई भेट्न गएको याद छ। भेट्न जाँदा बुवा संगै जेल बस्ने अरु अङ्कलहरुसंग पनि भेट हुन्थ्यो। भेट गर्न जाँदा हामी घमा पाकेका फलफूल, तरकारी, भुटेको मकै, भट्टमास आदि लिएर जान्थ्यौ। उहाँ निडर र हक्की स्वभावको हुनु हुन्थ्यो। मनमा लागेको कुरा बोल्ने बानी थियो उहाँको। त्यसैले जल बस्दा पनि म उहाँलाई हाँसी खुसी नै देख्थे।
मेरो बुवामा शिक्षा प्रति निकै लगाव थियो। दमौलीको निर्मल हाईस्कुल स्थापना गर्न होस् वा कमलबारीको सिद्धेस्वरी स्कुलको स्थापना स्थापना गर्न उहाँको अहंम र निकै महत्वपूर्ण योगदान छ। आफ्ना र सबैका छोरा छोरीलाई राम्रो शिक्षा दिनु पर्छ भन्ने कुरामा उहाँ सदैव सतर्क र सचेत हुनुहुन्थ्यो। निर्मल हाई स्कुलको संचालक समितिको अध्यक्ष भएर पनि उहाँले काम गर्नु भयो। हाम्रो घरमा मैले जाने देखि नै निम्न माध्यमिक स्कुल पढेसम्म घरमा नै शिक्षकलाइ बस्ने ब्यबस्था मिलाइएको हुन्थ्यो। उति बेला अरु ठाउँबाट कमलबारीमा पढाउने शिक्षकहरुलाई हाम्रो घरमा नि:शुल्क बस्ने र खाने ब्यबस्था हुन्थ्यो। त्यो बापत उनीहरुले हामीलाई घरमा पढाइ दिनु पर्थ्यो।
उहाँ उदारवादी र सच्चा समाजसेवक पनि हुनु हुन्थ्यो। कर्लुंगमा जन्मनु भएका मेरो बुवाको नाम र प्रसिद्धि समाजसेवाको कारणले तनहूँ जिल्लामा धेरै थियो। कर्लुंग वरिपरि धेरै किसिमका जनजातिको बसोबास छ। सबै जनजाति र वर्गका मानिस सामु उहाँ लोकप्रिय हुनु हुन्थ्यो। उहाँ छुवाछुत, कुरीति र कुप्रथाको बिरोधी हुनु हुन्थ्यो।
उउति बेला २०३१-३२ तिर होला शायद, हाम्रो घरमा मेरो बुवाले ब्यबसायिक रुपमा कुखुरापालन गर्नु भएको थियो। त्यस बेला दमौलीको निर्मल हाई स्कुलमा माध्यमिक तहको कक्षा ९ र १० मा कुखुरापालन पढ्ने विद्ध्यार्थीहरु हाम्रो घरमा ब्यबहारिक शिक्षा सिक्न आएको मलाई अलि अलि याद छ। अनि त्यति नै बेला हाम्रो बारीमा ब्यबसायिक रुपमा फलफूलको बगैंचा, माछापालन गर्ने पोखरी र बंगुर पाल्ने खोर पनि बनाईएको थियो। उति बेला बाहुन परिवारमा जन्मेर कुखुरा र बंगुर पाल्ने हिम्मत गर्ने शायद कोही थिएनन् होला। उहाँले नै तनहूँ जिल्लामा पहिलो पटक फलफूलको बिरुवा उत्पादन गर्ने नर्सरी हाम्रो पृथ्वी राजमार्गसंगै रहेको जग्गामा शुरु गर्नु भएको थियो। यो अर्थमा उहाँ एक सिर्जनशील उधमी पनि हुनु हुन्थ्यो।
परिवार भनेको रगतका नाता हुने मानिसको झुण्ड मात्रै हैन, यो एउटा माया, अभिभावकत्व, संरक्षण, हेरविचार र सामुहिक भावनाको प्रतिक पनि हो। मेरो बुवामा आफ्ना परिवारका मान्छे, नातागोता र समाजका मान्छेलाई नजिक बनाउने, संरक्षकत्व प्रदान गर्ने र सहयोग गर्ने भावना थियो। असहाय, गरीव र दु:खी जनतालाई निवार्थ सेवा गर्नु हुन्त्यो उहाँ।
राजनीतिमा लागेर उहाँले धेरै धन सम्पत्ति गुमाउनु भयो, तर जनताको मन भने जित्नु भएको थियो। त्यो पुस्ताका धेरैले अहिले पनि मलाई मेघनाथ कैनीको छोरा भनेर चिन्छन। त्यसैले अहिले पनि मलाई मेरो बुवा प्रति गर्व छ। तर, अहिलेको राजनीतिक नेता र त्यो बेलाका राजनीतिक नेताहरुको ब्यबहार, आचरण र सोचाई हेर्दा आकाश जमिनको फरक छ। उति बेला निस्वार्थ राजनिती हुन्थ्यो। परिवारले दु:ख पाए पनि जनताले सुख पाउनु पर्छ भन्ने विचार र आदर्श थियो। अहिले राजनीति स्वार्थ केन्द्रित छ। उति बेला आर्थिक कारणले मेरो परिवारले धेरै दु:ख भोगे पनि म उहाँको सोचविचार, योगदान र भावना प्रति गौरवान्वित छु।
मेरो बुवाले प्रजातन्त्र, समाजवाद, समुन्नत नेपाल र स्वतन्त्रताको लागि आफ्नो जीवन समर्पण गर्नु भयो। मेरो बुवा बित्नु भएको तेत्तिस बर्ष पछि र नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबै आए पछि पनि जनताको जीवन स्तरमा भने खासै परिवर्तन आएको छैन। अहिले पनि मेरो बुवा माथिबाट यी सबै कुरा हेर्दै हुनुहुन्छ भने पक्कै उहाँ पनि अहिलेका नेता र देशको हालत देखेर बिरक्त्त हुनु भएको होला। अहिले जे भएँ पनि उहाँको जीवन सार्थक थियो। मैले पनि त्यस्तै केही गर्न सके बुवाको सपना साकार हुन्थ्यो की ?
३ भदौ २०७७, बुधबार, कुशे औंशी (१९ अगष्ट २०२०)
लन्डन, बेलायत।
अंकल इमान्दार राजनितिज्ञमा चिनिनुहुन्थ्याे
ReplyDelete