लघुकथा: आत्माग्लानी
- डा. बच्चु कैलाश कैनी
मलाई अझै पनि त्यो दिनको याद आउँछ, जुन दिन म पहिलो पटक क्याम्पसको गेट भित्र छिरेको थिएँ। म क्याम्पसको हाता भित्र मेरो कक्षा कोठा नदेखेर अल्मलिंदा म जस्तै अर्की नव आगुन्तक केटी पनि अल्मलिएको भेटेको थिएँ। त्यसरी मैले क्याम्पस जीवनमा भेटेको मेरो पहिलो साथी थिईन अञ्जना।
अञ्जना र म त्यो कक्षा भर राम्रो र असल साथी भयौं। उती बेलाको आई कमको पढाई सकेर म बिकम पढ्न काठमाण्डौ गएँ। पढाई सके पछि म आफ्नै व्यवसायमा लागें। मेरो ब्यवसाय निकै सफल पनि भयो। अनि पछि राजनितीमा जाने रुची जाग्यो। राजनीतिमा लागेर म आफ्नै जिल्लाबाट सांसद र मन्त्री भएं।
म गत बर्ष पार्टीको केन्द्रिय सदस्यको हैसियतले मेरो छिमेकी जिल्लाको एउटा राजनीतिक कार्यक्रममा भाग लिन गएको थिएँ। मैले त्यहाँ अचानक अञ्जनालाई भेटें। मैले उनको हालखबर सोधें, उनले मेरो र मेरो परिवारको सन्चो बिसन्चो सोधिन। त्यति बेला हामी बिच खास लामो कुराकानी भएन।
कार्यक्रम सकेपछि त्यही जिल्लाको पार्टीका जिल्ला सचिवबाट अञ्जनाको बारेमा थप कुरा थाहा भयो। जुन बेला म काठमाण्डौमा बसेर ब्यबसाय गर्दै थिएँ, त्यति नै बेला उनी राज्य सत्ताको बिरोधमा भूमिगत बन्दै बन्दुक बोकेर जंगल पसेकी रहेछिन। उती बेला जनवादी सेनामा महिला कमान्डर बनेर केही सदरमुकाम आक्रमण गरेकी रहेछिन। पछि सेनाको गोली लागेर घाइते भएपछि घरमा बस्दै आएकी रहेछिन। अहिले उनी आफ्नै गाउँमा पतिको खेतीपातीबाट हुने आम्दानीको भरमा परिवारसंग बस्दै आएको थाहा भयो।
म संगको भेट पछि अञ्जनालाई के लाग्यो मलाई थाहा भएन। तर, मलाई भने अञ्जनाको यो हालत देखेर मनमनै आफै प्रति आत्माग्लानी लाग्यो। अहिलेको देशको अवस्था र सर्वसाधारण जनताको हालत देखेर आफै र आफ्नै दल प्रति आक्रोशित भएं म। मैले बाहिर कसैलाई केही नभने पनि केही नदेखाए पनि म जब कुनै कार्यक्रमको मन्चमा हुन्छु अनि अञ्जनाको याद आउंछ।
मनमनै जति आत्माग्लानी भए पनि जति आक्रोशित भएपनि म भने राजनीतिमा अविरल छाएको छु। धेरै बर्षदेखि पद र सत्तामा बस्न लागेको बानि, वरिपरि कार्यकर्ताको भीड र सबैतिर सम्मानको ओइरो मेरो जीवनको अभिन्न अंग भई सक्यो। त्यसैले मेरो मनले जे भने पनि, अञ्जनाको जति याद आएपनि म राजनीतिमा अरु जस्तै टिक्दै आएकोछु ।
आइतबार, भाद्र २१, २०७७ (६ सेप्टेम्बर २०२०)
लन्डन, बेलायत।
No comments:
Post a Comment