लघुकथा: भगवानको भर
- डा. बच्चु कैलाश कैनी
'आज तलब आउने दिन हैन?' हरेक महिनाको मसान्तको दिन मेरी श्रीमतीको प्रश्न म तिर तेर्सिन्थ्यो। अरु दिनको बारेमा उनलाई थाहा नभएपनि मेरो तलब थाप्ने दिन भने पक्का थाहा हुन्थ्यो। हुन पनि किन नहोस, जसले मेरै तलबले चुल्हो बाल्नु छ र घर धान्नु छ। मैले पनि हरेक पटक हाँसेर जवाफ दिने गर्थें, 'हो, आज तलब ल्याएर मासु भात खाने दिन हो।'
मेरो र मेरो परिवारको जीवन यसरी नै चलेको थियो। महिना भरि साहुको कम्पनीमा काम गर्ने, महिना मरे पछि साहुको घर बाट तलब ल्याउने र दैनिक गुजारा चलाउने। दैनिक गुजारा चलाउनु भन्दा ठूलो सपना देख्न छोडेको धेरै भयो मैले। भोलि के हुन्छ, कसरी दिन चल्छ त्यो भोलि नै थाहा होला भन्ने लाग्थ्यो मलाई । मेरो जिन्दगी यसरी नै चलि रहेको थियो।
संसार कोरोनाले अस्त व्यस्त भयो। अर्थतन्त्र नराम्रोसंग थला पर्यो। मैले काम गर्ने कम्पनी बन्द भएको अहिले छ महिना जति भयो। मैले तलब नपाएको पनि झन्डै त्यति नै भयो। कोरोनाको संकट हट्ने र साहुको मुख ताक्नु भन्दा मेरो कुनै उपाय नै छैन।
अस्ति कम्पनीको हाल खबर बुझ्न साहुको घर पुगेको थिएँ। साहुको घरमा बैंकका मानिसहरु आएर प्रश्न गर्दै रहेछन, 'आज बैकको किस्ता तिर्ने दिन हो भन्ने सम्झाउन हामी यहाँ आएको हौ। धेरै भयो किस्ता तिर्न बाँकी रहेको। तपाईले किस्ता कहिले तिर्ने?'
साहु र साहुनी दुबैको अनुहार मलिन देखें। न उहाँहरुसंग बैंकका कर्मचारीहरुको प्रश्नको उत्तर छ न समाधानको कुनै उपाय नै छ। म पनि वाक्क न बक्क परे। पहिले म साहुको भरमा थिएँ र साहुजी मेरो भरमा हुनु हुन्थ्यो। अहिले भने हामी दुवै जना कोरोनाको कहर हट्ने उपाय खोज्दै भगवानको भरमा परेका छौँ। अस्तु।
१४ भदौ २०७७, शनिबार (३० अगष्ट २०२०)
लन्डन, बेलायत।
No comments:
Post a Comment