https://www.sahityapost.com/2020/09/17391/
‘छोराको बिहे गर्ने बेला भयो। खै! कोही तात्ने हैनन्,’ आमाले आफ्नै दुखेसो पोख्नु भयो।
‘उमेर पुगेको छोरा नै बिहे गर्ने कुरा गर्दैन भने अरुले कुरा गर्दैमा केही हुँदैन,’ बुवाको तत्काल जवाफ आयो।
‘आजकल मलाई यसको कोहीसँग लभ परेको छ को जस्तो लाग्दैछ। सधैं मोबाइलमा झुन्डेर बसेको देख्छु,’ आमाले शंका व्यक्त गर्नु भयो।
बुवाको तत्काल जवाफ आयो, ‘त्यसो त ऊ मात्रै हैन, आजकल केटाकेटीदेखि बुढाबुढीसम्म हरेक मानिस मोबाइलमा झुन्डेर बसेको देख्छु। त्यसो भन्दैमा सबै लभ गर्ने मात्रै कहाँ हुन्छन र ?’
मलाई बुवाले मेरो मनको कुरा भनेको जस्तो लाग्यो।
आमालाई के थाहा ? मैले गत दुई वर्षदेखि फेसबुक वा अरु कुनै सामाजिक सञ्जाल चलाउन छोडेको छु। आमालाई आजकल मोबाइल र फेसबुक एकअर्काको पर्यायवाची शब्द लाग्छन्। उहाँलाई लाग्छ, फेसबुक पनि अरुको चियोचर्चा गर्न वा लभ गर्न चलाउने गरिन्छ।
आमा र बुवाको कुरा चल्दै गर्दा म भने मौन बसिरहेको थिएँ। बुवा र आमाको कुराकानीको बिषय म थिएँ। तर पनि उहाँहरु मेरो कुरा सुन्नु भन्दा मलाई आफ्नो कुरा सुनाउनेमा बढी केन्द्रित हुनुहुन्थ्यो। मलाई पनि यो विषय कुनै नौलो थिएन किनकि घर परिवार, इष्टमित्र र साथीभाइबीच मेरो बिहे गर्ने विषयको चर्चा केही वर्षदेखि निरन्तर चल्दैछ। लाग्छ, आजकल मलाई भन्दा पनि अरुलाई मेरो बिहेको चिन्ता छ।
यी सब कुरा सुन्दै गरेकी मेरी बहिनी बाहिर निस्की र भनी, ‘दाइको बिहे गर्ने कुरा धेरै भयो। खास कुनै प्रगति भएको छैन तर आज मैले केही कुरा अघि बढाएको छु। दाइको बिहेको लागि मैले लमी खोजी दिएकी छु।’
उसको यो कुरा सुनेर हामी छक्क पर्यौं। मलाई लाग्यो उसले जिस्केकी हो।
आमा र बुवा पनि छक्क पर्नु भयो। आमाले सोध्नु भयो, ‘हैन के भन्छे यो? बिहे गर्ने मान्छे नै तयार छैन किन लमी जुटाउनु पर्यो?’
आमाको यो प्रश्न स्वाभाविक थियो।
बुवाले थप्नु भयो, ‘यो घरबाट कहीं निस्केकी छैन आज। कसरी जुट्यो लमी ?’
उसले हाँसेर उत्तर दिई, ‘आज मैले दाइको फेसबुक एकाउन्ट एक्टिभेट गरी दिएँ। मैले सुनेअनुसार आजकल सबै भन्दा सक्रिय लमी फेसबुक हो रे ! त्यसैले अब दाइको पनि केही हुन्छ कि भन्ने आशा गरेकी छु।’
मैले पनि थपें, ‘यो तिम्रो अनुभवले प्रमाणित गरेको हो भने यो कुरा हुन सक्छ !’ ऊ केवल मुस्काराई।
आमालाई लाग्यो होला, छोरीले मेरो समर्थन गरी। बुवालाई लाग्यो होला मान्छेले खोज्न र गर्न नसकेको त्यो फेसबुक के गर्थ्यो ! मेरो लागि नयाँ लमी भेटेर आमा र बुवाको मन कति रमायो वा कस्तो भयो मलाई थाहा छैन। तर, हामी भने एकछिन हाँस्यौं र रमायौं।
No comments:
Post a Comment