डा. बच्चु कैलाश कैनी |
मान, सम्मान र आदर हरेक सभ्यता र समाजको पहिचान हुन्। हरेक समाजमा ठूलालाई आदर गर्ने र सानालाई माया गर्नु पर्छ भन्ने मान्यता छ। यो स्वभाविक पनि हो। तर, हाम्रो समाजमा मानिसको हैसियत, पद, जाती वा वर्ग अनुसार धेरै मान सम्मान खोज्ने प्रचलन छ। यो भने अस्वाभाविक देखिन्छ।
हाम्रो संस्कृतिमा दुई व्यक्ति भेट हुँदा सम्बन्ध अनुसार नमस्कार गर्ने, पाऊ छुने, शीर निहुर्याउने, हात मिलाउने, अंगालो हाल्ने आदि प्रचलन छ। खास गरी सानो मान्छेले ठूलो मान्छेलाई पद अनुसार, उमेर अनुसार, नाता वा साईनो अनुसार अभिवादन गर्ने प्रचलन छ। पद अनुसार ठूलो पदमा काम गर्ने वा 'ठूलो' व्यक्तिले 'सानो' वा सानो पदमा काम गर्नेलाई अभिवादन गर्ने प्रचलन छैन। यो चलन विभेदकारी प्रचलन हो। चिनेजानेको व्यक्तिहरु भेट हुँदा जसले जसलाई अभिभादन गर्दा पनि हुन्छ।
पश्चिमी संस्कृतिमा भने व्यक्ति अनुसार फरक फरक किसिमले आदर भाव व्यक्त गर्ने वा सम्बोधन गर्ने प्रचलन छैन। चिनजानको व्यक्तिहरु भेट हुँदा सामान्यतय जसले पहिलो देख्यो उसैले अर्को ग्यक्तिलाई अभिवादन गर्ने प्रचलन हुन्छ। यसमा न कुनै प्रोटोकल छ, न कुनै विभेद नै। सबैले सबैलाई उस्तै किसिमले हेर्ने गरिन्छ।
नेपालमा मान्छेलाई बोलाउने वा सम्बोधन गर्ने प्रचलन पनि विभेदकारी नै छ। ठूलो व्यक्तिलाई सर, म्याडम, मिस, ज्यू, आदि लगाउने र आफू भन्दा सानो व्यक्तिलाई नामको पछि जी लगाउने वा नामले मात्रै सम्बोधन गर्ने प्रचलन पनि छ। त्यति मात्रै हैन, अरुलाई सम्बोधन गर्दा हजूर, तपाई, तिमी, तँ आदि फरक फरक शब्दको प्रयोग गरिन्छ। यो पनि विभेदकारी नै छ।
नेपाली समाजको संरचना, परम्परा र सोचमा लिङ्गविभेद, जातिय विभेद, वर्गीय विभेद आदि जस्ता विभेदहरु प्रशस्त मात्रमा झल्कन्छन। हाम्रो संरचना पितृसत्तात्मक छ। व्यक्तिगत सम्बन्ध, परिवार र समाजमा अझै पनि पुरुषहरुको दबदबा छ। हाम्रो समाजमा मान सम्मान खोजिन्छ। आफूले अर्कोलाई कस्तो सम्मान दिने त्यो भन्दा पनि अरुले मलाई कस्तो सम्मान दिन्छ त्यस तर्फ बढी ध्यान दिने गरिन्छ।
माथि उल्लेखित प्रचलनहरु युवा वा नयाँ पुस्तामा केहि सुधार भए पनि पहिलेको वा अग्रज पुस्ता भने अझै पनि पुरातन सोचाई र विचारमा चलि रहेको छ। अहिले पनि नेपालमा युवा पुस्ता भन्दा अग्रज पुस्ताहरु आफूलाई चाहिने भन्दा बढी मान सम्मान वा भाऊ खोजेको कुरा ब्यबहारमा प्रशस्त देखिन्छ। यो प्रचलन जागिर खाने कार्यालयहरुमा प्रसस्त देखिन्छ। एकदम पाको वा उमेरले पचास नाघेको कार्यालय सहायकले भर्खर कार्यालयमा काम गर्न शुरु गर्ने युवा वा पच्चीसको खरदारलाई नमस्कार गर्नु पर्ने प्रचलन अझै अनि छ।
मान र सम्मान आत्मसम्मानसंग जोडिने बिषय हो। अरुलाई मन सम्मान गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्नु हुँदैन। मान र सम्मान भनेको करबलले लिने वा दिने बिषय हैन। यो मनदेखि नै आउने बिषय हो। कसैलाई देख्ने बित्तिकै मनदेखि नै सम्मान प्रकट हुन्छ। कसैलाई पद अनुसार वा हैसियत अनुसार सम्मान गर्नु पर्ने भए पनि मनदेखि घृणा पैदा हुन्छ। सम्मान आफ्नो काम, ब्यबहार र गुणले प्राप्त हुने कुरा हो।
सबैको विचार उस्तै हुँदैन। कोही आफ्नो आत्मसम्मानमा सम्झौता गर्दै व्यक्तिगत फाईदा वा स्वार्थको लागि काम गर्छन। कसैको लागि आफ्नो आत्मसम्मान भन्दा ठूलो अरु केहि हुँदैन। मेरो व्यक्तिगत विचारमा मेरो आत्मसम्मान भन्दा ठूलो अरु कुनै हुन सक्दैन। म मेरो आत्मसम्मानमा सम्झौता गरेर न कुनै काम गर्छु, न कुनै पद वा पैसा नै प्राप्त गर्छु। मेरो लागि मात्रै हैन अरु कसैको लागि पनि आत्मसम्मानमा ठेस पुग्ने काम भयो भने आफ्नै मन र आत्माले स्वीकार गर्दैन।
मलाई आदर गर्नुस भनेर कसैलाई बाध्य पार्न सकिंदैन। तर कसैले मलाई अनादर गरेको कुरालाई भने सजिलै अस्विकार गर्न सकिन्छ । त्यस्तो अवस्थामा शब्दले प्रकट गरेर प्रतिवाद गर्न सकिन्छ। एक पटक अरुलाई अनादर गर्ने व्यक्तिलाई प्रतिवाद गरेर पाठ नासिकाउने हो भने उसले पटक पटक अरुलाई अनादर गर्छ, मान सम्मान र प्रतिष्ठामा आंच पुर्याउँछ।
आत्मसम्मान प्राप्त गर्न हरेक व्यक्ति आफ्नो काम, परिवार वा समाजमा ईमान्दार हुनु जरुरी हुन्छ। आफूले आफैंलाई धोका दिएर न आत्मसम्मान प्राप्त गर्न सकिन्छ, न अरुको सम्मान नै। आफू ठिक भए वा आफ्नो आत्मा र मनलाई चित्त बुझाउने ब्यबहार गर्ने हो भने अरुले आफूलाई सम्मान गर्छ गर्दै केहि फरक पर्दैन। आफ्नो आत्मसम्मानले आफैंलाई सुख र सन्तुष्टि दिन्छ|
No comments:
Post a Comment