Wednesday 21 July 2021

यात्रा

कथा- यात्रा

मेरो दैनिकी सधै उस्तै हुन्छ । बिहान सात बजे उठ्ने, आठ बजे घरबाट निस्कने र नौ बजे अफिस पुग्ने
। म एकदम नियमित छु मेरो दैनिकीमा । आज पनि केही फरक छैन ।लण्डनको हिउँद सधै उस्तै हुन्छ ।
चिसो हावा, बादल लाग्ने र धेरै जसो पानी पर्ने दिन । आज पनि त्यस्तै छ । सिमसिम पानी परेको छ ।
हावा भने जोडले चलेको छ । आठ बजे सम्म पनि अँध्यारो हुने र चार बजे नै रात पर्ने यहाँको हिउँदको
बिशेषता हो । चारै तिर पात झरेका रुखहरु थिङ्ग उभिएका छन् ।

फरक त्यति हो, आज नयाँ दिन र समय हो । तर म भने हिजो अस्ति जस्तो थिएँ आज पनि त्यस्तै छु ।
कुनै नयाँ सोच, बिचार र जाँगर छैन । जीवन चलाउनको लागि जागिर खान्छु । छोरा, छोरी, पत्नि वा
घरपरिवारको लागि र आफ्नै लागि पनि कर्तव्यपालन गर्दैछु । एक किसिमले भन्ने हो भने घडीको सूई
जस्तो जीवन चल्दै छ । रात पछि दिन र दिन पछि रात । अफिस पछि घर र घर पछि अफिस । आम
मानिसले जस्तै काम गर्दै समयको गति संगै पाको हुँदै छु म पनि ।

धेरै जसोको जीवन यस्तै होला, जस्तो मेरो छ । अलिकति खुसि, अलिकति गुनासो, अलिकति डर,
अलिकति लोभ, कहिले आशा त कहिले निराशा । कहिले सफलता अनि कहिले असफलता । जीवन

डा. बच्चु कैलाश कैनी

यी
सबै कुराको मिश्रण हो । जीवन हाँसो र खुसी दुवै हो । जीवन अनुभवको संगालो हो । जीवन यात्रा हो । र,
यो सहयात्रा पनि हो । मात्र फरक यति छ कि कसैको कुनै गुण धेरै मात्रामा होला त कसैको कुनै कुराको
मात्रा कम होला । तर, मानिस मानिस नै हो ।

घरबाट बिहानै काममा निस्कन कसलाई पो मन लाग्छ र ? म पनि त्यो भीडमा एक्लो छैन । कहिले
जाँगर लाग्दैन काममा निस्कन । तर पनि बाध्याता । जीवन चलाउनु पर्ने । बिल तिर्नु पर्ने । समय
काट्नु पर्ने । अरुको लागि काम गरेर केही देखाउनु पर्ने । ज्ञान, सीप, दक्षता र अनुभवको सदुपयोग गर्नु
पर्ने । कति छन कति यहाँ काम गर्नु पर्ने कारणहरु वा बाध्यताहरु ।

जाँगर चले पनि नचले पनि सधैं जस्तै घरबाट निस्के । घरमा बस्दा होस् वा बाहिर निस्कदा मन त सधैं
सक्रिय नै हुन्छ । मन न त हो, कसले रोक्न सक्छ र सोच्नलाई । निरन्तर कुनै नै कुनै कुरा मनले सोची
रहेको हुन्छ । काम, साथीभाई, परिवार, घुमफीर, पैसा, मौसम, दैनिक गर्नु पर्ने यात्रा, खानपिन के के हो
के के यो मनले सोच्ने । घरबाट निस्के पछि सधैं जस्तै मेरो मनले आज पनि काम कै बारेमा सोच्न
थाल्यो । सोच्दा सोच्दै बाटो काटेको थाहा भएन ।

ट्रेन स्टेसनमा बिहान उही समय सधैं उस्तै माहोल हुन्छ । बिहान उही समय उनै मान्छेहरु
देखिन्छन । हरेकको दैनिकी मेरो जस्तै हो । उही समय कामको लागि निस्कने, हरेक दिन

उस्तै समयको ट्रेन चढ्ने र काममा जाने । आजको स्टेसनको माहोल भिडभाड छ । तर,
मौसमको कारणले हुन सक्छ अलिकति ढिलो आयो मेरो ट्रेन । केही समय कुर्नु पर्यो मैले ।
अलिकति कुर्नु पर्दा पनि समय बर्वाद भएको महसुस हुन्छ यहाँका मान्छेहरुलाई । हुन पनि
किन नहोस, सबैलाई हरेक मिनेटको महत्व हुन्छ । एक ठाउँमा पांच मिनेट ढिलो भए
समयको चक्र बिग्रन्छ, अर्को ठाउँमा अर्को ट्रेन छुट्छ वा अरु कुनै कामको लागि ढिला हुन्छ ।
स्टेसनमा मान्छेहरुको भिड छ । यो भिडमा सधैं देखिने मानिस हुन् चम्किलो पहेंलो कपडा लगाउने
स्टेसन सहायकहरु । न चिसो, झरी वा बादलको मतलब छ, न त हावाहुरीको नै चिन्ता छ । खुल्ला
स्टेसनमा उनीहरु सधैं तत्पर हुन्छन रेल यात्रीहरुको सुरक्षामा ध्यान दिंदै समयमा ट्रेन छुटाउनको लागि
। हरेक दिन उही सिट्ठी बजाउंदै हातले इशारा गर्छन । आखिर यो पनि एउटा काम नै हो । तर, धेरै जसो
खराव मौसमको कारणले गर्दा कठिन काम ।

त्यही काम गर्ने एकजना मेरा छिमेकी छन, जोन । जोनको उमेर ५५ बर्ष, हाल एकल पुरुष, तीन
सन्तानका पिता तर एक्लै बस्छन, ठेगाना काउन्सिलको घर । बिहान सबेरै साँढे चार बजे उनी
निस्कन्छन कामको लागि । दिउँसो दुई बजे घर पुग्छन । उनको आफ्नै कथा र ब्यथा छ । जब म
उनीलाई स्टेसनमा देख्छु तब उनको कथा र ब्यथा सम्झन्छु । उनलाई मनमनै सलाम गर्छु ।
जोनलाई मैले हरेक दिन शनिवार र आइतवार मर्निङ्ग वाल्कमा जाँदा भेट्छु । बेलायतीहरू खास
अरुको बारेमा चासो दिदैनन । नचिनेको मान्छेको त के कुरा, बाटोमा छिमेकी नै भेट्दा पनि वास्ता
गर्दैनन । उनी पनि शुरुमा त्यस्तै थिए । मैले शुरू शुरुमा भेट्दा उनलाई गुड मर्निङ्ग भन्दा उनी मुसुक्क
हाँस्थे र जवाफ फर्काउँथे । त्यो क्रम चल्दै जाँदा बिस्तारै बिस्तारै उनी मसंग बोल्न थाले । अहिले त
जोन र म साथी जस्तै छौ । भेट्दा सन्चो बिसन्चो र सुख दुखका कुराहरु गर्छौ । म अलिकति बोल्नु पर्ने
र छिट्टै अरुसंग घुलमिल हुने मान्छे हुँ । मसंग कुरा गर्ने हकमा अहिले उनी पनि म जस्तै भए ।
बीस बर्ष अघि उनको पत्निले उनलाई छोडेर अर्कैसंग बिहे गरिछिन । त्यति बेला पांच, आठ र दश
बर्षका तीन सन्तानलाई उनले एक्लै हुर्काए, बढाए र पढाए । सरकारले दिने भत्ता र पार्टटाइम कामको
आम्दानीको भरमा सन्तान हुर्काए र आफ्नो जिउ पाले । सबै सन्तानहरु हुर्के पछि आ-आफ्नो घरजम
गरे । सबै आ-आफ्नो पेसा वा ब्यबसाय गर्छन । त्यसैले उनी अहिले एक्लै छन काउन्सिलको घरमा ।
उनका अनुसार उनलाई अहिले एक्लै बस्नुको पीडा छ । त्यसैले त्यो हटाउन बेला बेलामा पब जान्छन ।
बाहिर खान र सिनेमा हेर्न जान्छन । बेला बेला साथीभाई वा इष्टमित्रको घरमा जान्छन । तरपनि कोही
केटी साथी भने बनाएका छैनन । र, उनी भन्छन उनलाई त्यो बिचार आएको पनि छैन ।
बेलायती समाज नेपाली समाज भन्दा फरक छ । यहाँ हरेक मानिसको व्यक्तिगत चाहना र
स्वन्त्रन्तालाई खुब महत्व दिन्छन । निजी मामला, पारिवारिक मामला र सार्वजनिक मामलालाई

अलग अलग रुपमा हेर्छन । सकेसम्म अरुको व्यक्तिगत मामलामा अरुले दख्खल दिंदैनन ।
बेलायतमा महिला हुन वा पुरुष मन नमिलेको खण्डमा सम्बन्ध बिच्छेद गर्नु र पछि बिहे गर्नु वा अर्को
साथीसंग बस्नु सामान्य मानिन्छ । तर, किन त्यसो हुन सकेन जोनको जीवनमा ? मैले यो प्रश्न
उनलाई एकदिन गरेको थिएँ ।

उनले भनेका थिए, जीवनमा सधैं सोचे जस्तो हुँदैन । उनको जीवनमा पनि त्यस्तै भयो । करिब पच्चिस
बर्ष अघि उनकी श्रीमतीले लागु पदार्थको सेवन गर्न थालिन । आफ्नो दुर्व्यसनको लागि लागु पदार्थको
कारोवार गर्न थालिन । बालबच्चा घरमा छोडेर कहिले यता कहिले उता डुल्न थालिन । धन सम्पत्ति
पैसा उडाउने, गलत संगत गर्ने मात्रै हैन, आफ्नै स्वास्थ्यको पनि बेहाल बनाउन थालिन । त्यसैका
कारण बच्चाहरुको लागि जोनले जागिर छोडे । अनि, उनकी श्रीमतीले जोनलाई नै छोडिन ।
मलाई बिस्वास लागेन त्यति कुराले नै जोनले महिलाप्रति हेर्ने दृस्टीकोणमा किन फरक आयो त? मेरो
जिज्ञासामा जोनले एकदिन भनेका थिए, मनमा पर्ने पिडा धेरै किसिमका हुन्छन । कुनै बाहिरी सतही
पीडा त कुनै भित्री दिल नै छिया छिया पार्ने पीडा । जोनको पीडा भने दोश्रो रहेछ । उनकी श्रीमतीले
उनको जागिर, घर र परिवार नै बर्वाद गरिन र उनी प्रति धेरै किसीमको हिँसा गरिन । त्यसैले उनलाई
अब अर्को सम्बन्ध पनि त्यस्तै हुन सक्छ भन्ने लाग्दो रहेछ ।

जे होस बेलायती समाजमा जोन एउटा कर्मवीर हो । घायल भएर उठेको कर्मवीर । परिवार र आफै प्रति
कर्तव्यनिष्ठ कर्मवीर । जोनलाई हरेक दिन मैले ट्रेन स्टेसनमा देख्दा मलाई पनि आफ्नो काम, परिवार
र समाज प्रति मैले गर्नु पर्ने कर्तब्यको स्मरण हुन्छ । जीवनमा हरेकले पार गर्नु पर्ने उकाली ओरालीको
याद आउँछ । पारिवारिक मूल्य र मान्यतालाई दिनु पर्ने महत्व र आफ्नो भूमिकाको बारेमा ख्याल
आउँछ ।

जोनलाई हेर्दहेर्दै र मनमा अनेक कुरा सोच्दासोच्दै मेरो ट्रेन पनि आईपुग्यो । ट्रेनमा चढे पछि त्यहाँ भित्र
सबै तिर नियालें । कोही कफी पिउंदै थिए, कोही पत्रिका पढ्दै थिए, कोही चुपचाप बस्दै थिए त कोही
मेकअप गर्दै थिए । यात्राको क्रममा जस्ले जे गरे पनि त्यहाँ पनि जोन जस्तै सबै कर्मवीरहरु देखें, जो
आफ्नो कर्तव्यको पालना गर्न गन्तब्य तिर जाँदै थिए । जे काम गरे पनि आखिर सबैको गन्तब्य त्यही
हो, जिन्दगी चल्ने, चलाउने, सुखी र खुसी हुने । सायद म पनि जानी नजानी त्यस्तै गन्तब्य पार गर्न
सधैं झैँ आजको यात्रा तिर लागें ।

https://sahityapost.com/aakhyan/storyaakhyan/45004/ 

https://sahityapost.com/aakhyan/story-aakhyan/45004/

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube