Tuesday 12 October 2021

१५ वर्षपछि नेपालमा दशैं मनाउन पाउँदा मनै फुरुङ्ग

https://healthpati.com/detail/51120211012194242.html 


१५ वर्षपछि नेपालमा दशैं मनाउन पाउँदा मनै फुरुङ्ग 

‘पल्लो डाँडामा गुरुङ र मगर गाउँ थियो । पैसा कमाउन भारत गएका दाजुहरु ठूला–ठूला झोला बोकेर लाइन लागेर आउनुहुन्थ्यो, अनि लाग्थ्यो, अब दशैं आएछ’ डा. बच्चुकैलाश कैनी बाल्यकालको दशैं सम्झनुहुन्छ ।

कैनीको घरभन्दा अलिकति माथि एउटा कोट छ । ‘दशैंमा त्यहाँ सबैजना भेला भएर पूजा गर्ने, रमाइलो गर्ने चलन थियो । निकै रमाइलो हुन्थ्यो त्यहाँ’ उहाँ सम्झनुहुन्छ ।

कैनी यो रमाइलोबाट टाढा हुनुभएको १५ वर्ष भयो । अध्ययनकै शिलशिलामा बेलायत पुग्नुभएका कैनीको १५ वर्षसम्मको दशैं उतै बित्यो ।

यसपटक भने डा. कैनीको दशैं विशेष बन्दैछ । विशेष बन्नुको कारण उहाँले १५ वर्षपछि नेपालमै दशैं मनाउन लाग्नुभएको छ । यतिका वर्षपछि नेपालमै दशैं मनाउन पाउँदा उहाँ निकै उत्साहित हुनुहुन्छ । उहाँ बाल्यकालमा जस्तो दशैंमा लाहुरेहरु घर आएको दृश्य अहिले देख्न पाइँदैन । 

पहिलाको जस्तो रोटेपिङ पनि अहिले कतै देखिँदैन। दशैंको किनमेलका लागि सहर जाने र फर्किनेको ताँती अहिले देखिँदैन । 
यी सबै कुराहरुको स्मृति हुनेगरी यस वर्षको दशैं मनाउने योजना कैनीको छ । 

ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालको प्रमुख कार्यकारी अधिकृत रहनुभएका उहाँ अफिस विदा हुनेवित्तिकै घर जाने योजनामा हुनुहुन्छ । 

उहाँले नेपाल तथा बेलायतमा लामो समय अस्पताल व्यवस्थापकको जिम्मेवारी सम्हाल्नुभएको छ । बेलायतमा १५ वर्ष अस्पताल प्रशासक भएर काम गर्नुभएका उहाँ यस पटक नेपाल फर्कनुभएको हो । 

उहाँ श्रीमतीसहित बुधबार(अस्टमी)का दिन तनहुँ दमौली जाँदै हुनुहुन्छ । दशैं मान्नकै लागि उहाँकी श्रीमती फुलपातीका दिन बेलायतबाट आउँनुभएको छ । उहाँले पनि नेपालमा दशैं नमाउनु भएको १५ वर्ष नै भयो । कैनीको गाउँको घरमा दाजु भाउजू, काका, काकी हुनुहुन्छ । उहाँका आमाबुबा बित्नुभएको ३० वर्ष नाघिसकेको छ । 

बेलायतको १५ वर्षको बसाइमा नेपाली परम्पराअनुसार टीका, जमारा त लगाउनुहुन्थ्यो तर उहाँहरूलाई खासै नेपालमा भएर दशैं मनाएजस्तो के हुन्थ्यो । ‘नेपालको जस्तो कोटको रमाइलो, रोटेपिङ, खेतबारीको कान्लाकुन्ली, घमाइलो वातावरण नहुँदा दशैंको रमाइलो नहुने रहेछ’, कैनीले अनुभव सुनाउनुभयो । 

बेलायतमा रहँदा साथीभाइका आमाबुबाको घरमा गएर टीका लगाउनुहुन्थ्यो । रमाइलोका लागि आफ्नै परिवारसँग बसेर तास पनि खेल्नुहुन्थ्यो । बेलायतलाई नै स्थायी ठेगाना बनाउनुभएका कैनीको १५ वटा दशैं गाउँघर सम्झिएरै बित्यो । 

बाल्यकालको दशैं

दशैं आयो भन्ने बित्तिकै उहाँलाई लामो समय स्कुल विदा हुन्छ र घुम्न जान पाइन्छ भन्ने कुराले धेरै खुसी लाग्थ्यो । दशैंको घटस्थापनादेखि तिहार नसुकन्जेल स्कुल छुट्टी हुँदा केही समय भएपनि पढाइको तनावबाट मुक्ति पाइन्थ्यो । सानैदेखि पढाइमा अब्बल कैनीले २०४२ साल माघमा एसएलसी पास गर्नुभयो । 

एलएलसी दिएपछि उहाँ काठमाडौं आउनुभयो । एसएलसी दिएको १५ दिनपछि नै अध्यापन गराउने काम सुरु गर्नुभएका कैनीलाई दशैंमा साझा बस चढेर घर जाने गरेको सम्झना ताजै छ । 

दशैंमा घर जान साझा बसको टिकट काट्न सुन्धारामा घण्टौं लाइन बस्नुपर्थ्यो । ‘दक्षिणाको पनि खुब चासो लाग्ने, दक्षिणाकै लोभले सबैतिर टीका लगाउन पनि गइयो’ उहाँ ती दिन सम्झिनुहुन्छ, ‘ओहो त्यो बाल्यकाल साँच्चै नै रमाइलो थियो ।’ 

दशैंमा बोनस दिने नेपालको चलन पृथक

दशैं नेपालीहरूको महान् चाड हो । विशेषगरी हिन्दूहरूको विशेष चाड हो । यद्यपि नेपालीहरू सबैले यसलाई महान् चाडका रूपमा मनाउँदै आएका छन् । यसको धार्मिक, सामाजिक, सांस्कृतिक महत्त्व छुट्टै छ । कैनीलाई यसको अलवा कर्मचारीहरुलाई दशैंको समयमा बोनस दिने चलन झन् पृथक लाग्छ । तलब, भत्ता बोनस दिने चलनले पनि दशैंलाई विशेष बनाएको उहाँको बुझाइ छ। 

दशैंमा बोनस दिने चलन कर्मचारीहरुलाई उत्साहित र खुसी बनाएको उहाँ बताउनुहुन्छ । बेलायतमा क्रिसमस डेलाई विशेष ठानिन्छ तर त्यो समयमा कर्मचारीहरुलाई थप तलब, भत्ता दिने चलन नरहेको कैनी भन्नुहुन्छ ।

‘कर्मचारीहरुलाई दशैंमा थप तलब, भत्ता दिने नेपालको चलन सुनाउँदा विदेशी साथीहरु छक्क पर्छन्’ कैनी सुनाउनुहुन्छ । 

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube