Friday 10 December 2021

कविता: बिक्रीमा छ

डा बच्चु कैलाश कैनी 



यहाँ बिक्री हुने कुरा त बिक्री भए 
बिक्री नहुने कुरा पनि खरिद गरिए 
अभाव केवल पैसाको हो 
के छैन र यहाँ बिक्रीमा?
अभाव केवल इमानको हो 
बेइमानको बिगबिगी भएको ठाउँमा ।

यहाँ इमान बिक्रीमा छ 
जताततै बेईमानको चलखेल छ
कोही नाम कमाउने होडमा
कोही दाम कमाउने होडमा 
कोही आफ्नै लागि
कोही उसको लागि  
कोही सन्ततिको लागि
कोही प्रेमिकाको लागि 
यहाँ इमान बेच्नेहरु सक्रिय छन् 
यहाँ चाखे थाप्नेहरु सक्रिय छन् 
यहाँ तिम्रो र मेरो बिचमा 
गाउँ र सहरको बिचमा 
आफ्नै नातागोताको बिचमा
भड्खालो हाल्नेहरु सक्रिय छन् ।

यहाँ यौवन बिक्रीमा छ 
जताततै यौवन फक्रेको छ 
उत्सव वा मेलाको नाममा 
वधन र  तिघ्राको ब्यापार चलेकोछ 
खाजाघरको रुपमा 
क्याविन भित्र यौनको ब्यापार चलेको छ 
इन्टरनेटको यो युगमा  
नग्न श्रब्यदृश्य खुलमखुल्ला देश भित्र छिरेकोछ 
जता गयो त्यतै हाम्रो यो देशमा 
यौवनको बिक्री बढेको छ  ।

अख्तियारी पाउनेहरुले 
पद बिक्रीमा राखेका छन् 
नातागोतालाई प्रशय दिनेहरुले 
आफ्नै मान्छेको लागि पद बाँडेका छन् 
समुह र उपसमुहमा रमाउनेहरुले
आफ्नै पिछा लाग्ने झुण्ड खडा गरेका छन्  
अलिकति शक्ति प्रदर्शन गर्नेहरुले 
टोल टोलमा गुण्डा पालेका छन् 
राजनीति गर्नेहरुले
आफ्नै खास कार्यकर्ता बनाएका छन् 
यहाँ सबै आफ्नै सिमित घेरामा 
आफ्नै समुह र उपसमुहमा 
आफ्नै परिवार र नातागोतामा 
सबै संसार देखेका छन् 
त्यसैमा सधैं सधैं रमाएका छन्  ।

सोझो बाटो छिटो बाटोको खोजीमा 
उकाली ओराली गर्नेहरु भेटिन छाडे 
भौतिक सुख र सुविधाको खोजीमा 
गाउँ बेसीहरु उजाड हुन थाले 
नक्कली मेकअप गरेर 
सुन्दरी हुने होडमा 
सक्कली सुन्दरीहरु हराउन थाले 
दुख गरेर नाम र दाम कमाउन छाडेर 
आजकल मान्छेहरु इमान बेच्न थाले 
आजकल मान्छेहरु 'सर्टकट' खोज्न थाले 
'कपि' र 'पेस्ट' को दुनियाँमा 
आजकल मान्छेहरु अरुको नक्कल गर्न थाले । 

भौतिक सुख र पैसाको खोजीमा 
आजकल यहाँ सबै किनबेच हुन थाल्यो 
अहिले यस्तो लाग्छ 
यहाँ के बिक्रीमा छैन र ?
केवल पैसा हुनु पर्यो 
बिक्री हुने कुराहरु त खरिद बिक्री भए 
बिक्री गर्न नमिल्ने कुराहरु पनि बिक्री भए ।





No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube