Tuesday 22 February 2022

कथा: … अनि रमेश सरको भिडियो बाहिरियो

कथा: … अनि रमेश सरको भिडियो बाहिरियो

शनिबारको दिन धेरैजसो अल्छि लाग्छ मलाई । आज पनि त्यस्तै  भयो । बिहान ढिलासम्म सुतें । मेरो लागि ढिला भनेको दशबजे हो । मेरो लागि चांडो उठ्ने भनेको पनि सातबजे भन्दा अघि हैन । बेलुका जति छिटो सुते पनि बिहान उठ्दा सात बजेकै हुन्छ । उठ्दा घरमा बिहानको खाना तयार भई सकेको रहेछ । अरुलाई मेरो बानीको बारेमा थाहा नहोला, तर मेरी श्रीमती भने मेरो बानी व्यहोरासँग अभ्यस्त छिन् । त्यसैले उनको कुनै गुनासो छैन । गुनासो पनि किन होस् ?  म घरको एक्लो कमाउने र घरपरिवारको आर्थिक जिम्मेवारी लिने सदस्य हुँ ।

उनको एउटै गुनासो छ, मेरो पिउने बानीको । कहिलेकहीँ पिउने बानीले गर्दा मेरो पैसा त्यसै स्वाहा हुन्छ । अनि महिनाभरको आर्थिक सन्तुलन बिग्रन्छ । मेरो छोराछोरीको पढाइ खर्च, लत्ताकपडा, मरमसला, परेको बेला औषधीउपचार, चाडपर्व मनाउने आदि सबैखर्च मेरो आम्दानीले चल्ने हो । अलिकति भएको खेतीपातीले तीन महिनाको भान्सा पनि चल्दैन।

कार्यालय जाने दिन कामको बोझले निकै थकाई लाग्छ । काम पनि त्यस्तै पर्यो ।  ‘नाम नै काफी छ’ भने जस्तै छ । मेरो पदको नाम नै कार्यालय सहयोगी । हो म सबैको सहयोगी हुँ । मभन्दा माथि सबै हाकिम । दैनिक रुपमा कार्यालयको ढोका खोल्ने, कार्यालयको सरसफाई गर्ने, सबैलाई चियापानीको व्यवस्था गर्ने आदि मेरो दैनिकी हो । त्यसमाथि हाकिम साबहरुको व्यक्तिगत काममा पनि मैले नै दौडधुप गर्नुपर्छ । के गर्ने मेरा दु:ख मैसँग छन् । अरुलाई भन्दैमा कमी हुने हैन, त्यही पनि मेरी बानी नै त्यस्तै छ । सबैलाई शेयर गर्न मन लाग्ने ।

एक दिन शनिबार बिदाको दिनमा घर बस्ने रहर मात्रै हैन, पुरै अल्छि बनेर बस्न रहर लाग्छ मलाई । यसरी नै मेरो पाँच दशक जतिको उमेर बितिसक्यो । अबको दुई तीन दशक कसरी बित्छ मलाई कुनै चिन्ता छैन । चिन्ता गरे पनि हुने केही हैन । मलाई थाहा छ सबैको गन्तव्य एउटै हो ।

डा. बच्चुकैलाश कैनी

बिहानको खाना खाँदै गर्दा रमेश सर अर्थात कार्यालय प्रमुखको फोन आयो । काम विशेषले त्यो दिन हाकिमसाब अफिस आउनु पर्ने भएछ । मलाई पनि बोलाहट  भयो । कार्यालय प्रमुखको निर्देशन आएपछि म कार्यालय सहयोगी उहाँको आदेश मानेर लुरुलुरु कार्यालय जानुभन्दा अरु कुनै उपाय नै छैन । त्यही पनि सरकारी कर्मचारीको नियती नै त्यस्तो हुन्छ । हाकिम भनेको हाकिम नै हुन्छ । हामी साना मान्छेको कुरामा कुनै मतलब नै हुन्न ।

हुन त मैले चाहेको भए अनेक बहाना बनाउन सक्थें, तर मेरो त्यस्तो बानी छैन । घरमा शनिबार जति अल्छिगरे पनि काममा भने मपक्का इमान्दार र कर्तव्य निष्ठ छु । त्यो मेरो सबैभन्दा ठूलो गुण हो भन्ने मलाई लाग्छ ।

रमेश सरको अनुरोध बमोजिम सर आउनुभन्दा अघि करिव एघार बजेतिर साइकल हुइँक्याउँदै म अफिस पुगें । अरु दिनजस्तो अफिसको सरसफाई गर्नु नपर्ने दिन भएकोले सिधै सरको कोठा खोलेर सरको आगमनको प्रतीक्षा गरेर बसें । कुर्ने बेलासम्म मेरो साथी मेरो मोबाइल थियो । कहिलेकाहीं लाग्छ यदि यो मोबाइल नभएको भए आजको पुस्ताको समय कसरी बित्थ्यो होला ? मेरो पुस्ता त मोबाइलमा यति अभ्यस्त भई सकेको बेला स्मार्ट फोनको जमानामा जन्मेको नयाँ पुस्ताको दिनचर्या कस्तो हुन्थो होला ?

रमेश सर अरु दुई जना साथीहरुको साथमा अफिस आउनु भयो । मेरो लागि  अरु दुवै जना अपरिचित थिए । मैले सबैलाई अभिवादन गरें । पानी, चिया वा कफी केही पिउने कि भनेर सोधें । सबैले भर्खरै खाना खाएर आएकोले पानी पिउने मनसाय जाहेर गरे बमोजिम मैले पानीको व्यवस्था गरें । अनि मेरो काम के थियो र  ? फेरि हातमा उही मोबाइल र उही सामाजिक संजालको साथ रह्यो ।

करिव आधा घण्टाको अन्तराल पछि रमेश सरसँग आउनुभएको दुई जना महासयहरु कार्यालयबाट निस्कनुभयो । मलाई लाग्यो अब सर पनि निस्कनु हुन्छ । छिट्टै घर जान पाउने आशामा मेरो मन अलिकति खुसीभयो । मन दोधार पनि भयो, सरलाई सोधुँ वा केहीबेर पर्खेर बसुँ । एकछिन पर्खेर बसें । करिव पन्ध्र मिनेटपछि अर्को एकजना मान्छे रमेश सरको कोठामा छिर्नु भयो । उहाँ पनि मेरो लागि अपरिचित नै  हुनु हुथ्यो ।

मेरो नियमित काम वा मेरो नियति अनुसार फेरि सरको कोठामा पसेंर उही प्रश्न गरें, ‘पानी, चिया वा कफी केही पिउने कि हजुर  ?’ यसपटक भने केही नपिउने जवाफ आयो । म आफ्नै स्टेसनमा फर्कें । फुर्सदको बेला जे गर्थें म फेरि उही काममा व्यस्त भएँ । हातमा मोबाइल र नि:शुल्क भर्चुयल संसारको यात्रा ।

यसपटक भने मनमा कौतुहल छायो । आज बिदाको दिन रमेश सरलाई भेट्न किन नयाँनयाँ मान्छेहरु कार्यालय आएका होलान ? यदि व्यक्तिगत काम भएको भए घरमा नै भेट्न सक्थे । यदि कार्यालयको काम भएको भए कार्यालय समयमा नै भेट्न पनि सक्थे । यस्तो कुरा नसोध्न सक्नेन न अरुको मनमा पसेर जान्न नै सक्ने । मेरो मनको कुरा मनमा नै रह्यो । के गर्ने सानो मान्छे ठूलो कुरा गर्न पनि भएन ।

झन्डै एक घण्टाको बसाइपछि रमेश सरलाई भेट्न आउनु भएको तेश्रो व्यक्ति पनि निस्कनु भयो । यसपटक भने सर पनि संगै निस्कनु भयो । अनि सरको निर्देशानुसार मेरो पनि काम सकियो । सरको कोठामा भएका सबै गिलासरू जम्मा गरें र तल लगें । अनि सरको कोठाको ढोका लगाएँ । मूलगेटको ढोका पनि बन्द गरें । जसरी आएको थिएँ त्यसरी नै साइकल हुइँक्याउँदै म घर फर्कें ।

भोलिपल्ट आइतबार अरु दिनजस्तै म पनि कार्यालय फर्कें । उही नियमित काम, मेरो उही दिनचर्या शुरु भयो । सबैको जस्तो दिन हुन्छ मेरो पनि उस्तै हो । घर, परिवार, काम, खानपिन, आदिआदि । अफिस आएपछि मेरो मनको हिजोको कौतुहल भने झन्जाग्यो । रमेश सरलाई भेट्न किन आए ती मान्छेहरु ?

बिहान रमेशसरले सधैंझैँ मेरो हालचाल सोध्नु भयो । नियमित जस्तै भलाकुसारी भयो । मैले रमेशसरको अनुहार एकटकले हेरें ।उहाँको बोली, अनुहार वा हाउभाउमा त्यस्तो कुनै सुख वा दुखको संकेत थिएन । त्यो मैले जान्ने वा बुझ्ने कुरा पनि थिएन, तर पनि मेरो मनको जिज्ञासाहरुको कुनै उत्तर मिल्छकि भनेर मैलेउहाँको अनुहार नियालेको थिएं, तर केही पत्तो भएन ।

रमेश सर छुट्टीको दिन कार्यालय आउनु भएको र केही मान्छेहरुलाई भेटेको कुरा अरु कसैलाईभन्दा पनि भनिन । अरु कसैलाई यो कुरा सोध्न पनि सोधिनं । मलाई लाग्छ, कार्यालयमा काम गर्नेको नैतिकता, अनुशासन र इमान्दारी हुनुपर्छ । जुनसुकै पदको भए पनि कार्यालयप्रतिको उत्तरदायित्व र जवाफदेही पनि हुन्छ । यो सबैले पालना गर्नुपर्ने हुन्छ । म सानोपदको भए पनि मलाई यी सबै कुराहरु थाहा छ । अरुले केगर्छन् भन्दा पनि मैले केगर्छु भन्ने कुरा मेरो लागि महत्त्वपूर्ण हुन्छ । नराम्रो कुरा त्यागेर राम्रो हुन पाठ सिक्ने हो । राम्रो कुरा संधै लागु गर्न सबैले प्रतिबद्धता जाहेर गर्नुपर्छ र लागु पनि गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

जसरी मेरा विगतहरु बितेका थिए त्यसरी नै समयहरु बित्दै गए । दिनहरु बित्दै गए। केही महिनाहरु पनि बिते । त्यो शनिबारको छुट्टिको दिन मामैले अफिस जानुपरेको र रमेशसरलाई केही मान्छेहरुले भेटेको कुरा मैले करिव करिव बिर्सीसकेको थिएं । नबिर्सनु पनि कसरी ? मैले उत्तर नपाउने वा जान्नुनपर्ने कुरा मनमा राखेर वा सम्झेर कुनै फाइदानै छैन । मान्छेको जीवनमा त्यस्ता अनगिन्ती घटनाहरू आउँछन् मस्तिष्कबाट बाहिरिन्छन । त्यसको कुनै हिसाब किताब राखेर साध्य नै छैन ।

झन्डै एक वर्षपछि एकदिन एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको रहेछ । त्यसको शीर्षक थियो, ‘घुसको चक्करमा हाकिम फन्दामा !’ त्यही दिन मेरो अफिसमा त्यो भिडियो सबैको हातहातमा पुगेको रहेछ । मैले पनि त्यो भिडियो हेरें । भिडियोमा त्यही दुईजना मान्छेहरु मेरो हाकिम साबसँग थिए र पैसाको लेनदेनको कुरा गर्दै थिए । यी तिनै मान्छेहरु थिए जसलाई मैले पानी पिउन दिएर त्यो शनिबारको दिन सेवा गरेको थिएं । मैले बिर्सेको त्योदिन फेरि मेरो दिमागमा ताजा भयो ।

जोबाट मैले इमान्दारीका साथ सिक्नु पर्ने थियो, नैतिकताको पाठ जान्नु पर्ने थियो उनैबाट यस्तो कुरा भएको सुन्दा मेरो मन निकै खिन्नभयो । त्यो दिन मैले अञ्जान वश् म पनि त्यो पापमा सामेल भएको कुराले मेरो मन दुखेको छ । तर केगर्नु  ? कुनैकुनै कुरा आफूले चाहेर पनि हुँदैन । संयोग भनुँ वा नियतिको खेल ! यस्तै हुन्छ जीवनमा ।

त्यसपछि मेरो मनमा झनै अर्को प्रश्न आयो । त्यो तेस्रो व्यक्ति त्यो शनिबार किन आयो ?  म यो प्रश्न निलम्बन  र कारवाहीमा परेका रमेशसरलाई सोध्न पनि सक्दिनं  र सोध्न जरुरत पनि छैन । मेरो मनको यो प्रश्न अनुत्तरित भए पनि अब अनुमान लगाउन भने गाह्रो छैन । ऊ पनि त्यस्तै कुनै डिलको लागि आएको हुनुपर्छ ।

भनिन्छ नि, ‘पाप भरिएपछि पोखिन्छ ।’  सायद रमेश सरको पापको घैटो भरिएको हुनुपर्छ । त्यसैले त्यो पोखियो र मैले बिर्सिसकेको त्यो दिनको भिडियो र वार्तालाप बाहिर आयो ।

 https://sahityapost.com/aakhyan/story-aakhyan/65704/


No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube