‘तिमी मलाई कति माया गर्छौ ?’ रमाको यो प्रश्नले म झस्कें ।
मैले भने, ‘तिमीलाई के लाग्छ ?’
उसले भनी, ‘त्यति प्रश्नको जवाफ पनि छैन है तिमीसँग ?’ म केही प्रतिक्रिया नदिई चुपचाप बसें । उ पनि चुपचाप नै बसी । कलेजको समय सकियो । हामी सबै घर लाग्यौं ।
मलाई अचम्म लाग्यो रमाको यो आकस्मिक र बिनासन्दर्भको प्रश्नले । सोचें यो निकै गौण प्रश्न हो । मनमा धेरै कुराराहरु खेले । रमा मेरो कलेजमा पढ्ने धेरै साथीहरु मध्ये एउटा साथी हो । हामी अहिलेसम्म धेरै नजिक भएर कुरा गरेको पनि छैनौँ । यस अघि मैले उसलाई माया प्रेम सम्बन्धी कुनै कुरा गरेको पनि छैन ।
भोलिपल्ट रमाले मलाई त्यो प्रश्न सोधेको कुरा मैले मेरो साथी दीपकलाई भनें । रमाले यो प्रश्न दीपकलाई पनि केही दिन अघि सोधेको कुरा उसले भन्यो । हामी दुवै तीन छक्क पर्यौँ । मनमा झन् धेरै खुल्दुलीहरु लाग्न थाल्यो । दिपक पनि यो कुराले अचम्म मान्यो । अनि, अरु साथीहरुसँग कुरा गर्दा थाहा भयो, उसले यो प्रश्न धेरैलाई सोधेको रहिछ ।
साँच्चै के हुँदैछ यहाँ ? मैले सोधें, ‘साथी हौ माया लागिहाल्छ । माया नाप्न गाह्रो छ । तर, यो प्रश्न भने किन?’ उसले भनी, ‘यो प्रश्न तिमीलाई मात्रै हैन सबैलाई हो । यसको उत्तर पाउन एक हप्ता कुर्नु पर्छ ।’
त्यो दिन हामी आ आफ्नो बाटो लाग्यौं । फेरि मनमा धेरै प्रश्नहरु खेल्न थाले । दिपकलाई पनि त्यस्तै भएछ । त्यसपछि केही दिन हाम्रो रमासँग भेट भएन ।
अर्को हप्ता अखबारमा पढें, ‘गीतकार रमाको नयाँ एल्बम ‘तिमी मलाई कति माया गर्छौ ?’ आज एक समारोहबीच विमोचन भयो ।’ मनमनै हाँसेँ र उसलाई बधाई दिएँ । मलाई लाग्यो, अरूलाई कौतुहल जगाएर आफ्नो रचनाको विज्ञापन गर्ने तरिका पनि आ-आफ्नै हुने रहेछ ।
No comments:
Post a Comment